काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल थालेको छ।
फलेवासको देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन्। स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका ४ वटा टावर निर्माण हुन सकिरहेका छैनन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास–६ देवीस्थानको स्थलगत निरीक्षण गरेको छ।
टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम विक, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, निवर्तमान नगरप्रमुख पदमपाणि शर्मा, प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने, वडाध्यक्ष नवीन श्रेष्ठलगायतको सहभागिता थियो। टोलीले प्रसारण लाइन निर्माण स्थलको स्थलगत निरीक्षण गरी स्थानीयसँग छलफल गरेको थियो।
टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको थियो। लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्य रुपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको थियो।
प्रसारण लाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले ४÷५ दिनभित्र सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ,’ घिसिङले भने।
सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिक रुपमा सम्भव भएसम्म टावरलाई रंगशालाको डिलतर्फ च्यापेर निर्माण गर्ने सहमति भएको उनले बताए। रंगशालाभन्दा तल भीर रहेकाले टावर धेरै तलसम्म लैजाने सम्भावना नदेखिएकाले विद्यालयलाई जोगाएर प्राविधिक रुपमा सम्भव भएसम्म रंगशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने उनको भनाइ छ।
कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो।
आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९.६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा छ। खुर्कोटमा २२०÷१३२ केभी र दानामा २२०÷१३२÷३३ केभी सबस्टेसन निर्माण गरिएको छ।
करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। यस खण्डमा पर्ने २३५ वटा टावरमध्ये फलेवासमा पर्ने चार वटाको निर्माण बाँकी छ। प्रसारण लाइन निर्माण असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले बताए।