मंगलबार, असार १०, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु, तीनजना मृत फेला

 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीनजना मृत फेला परेका छन्। यसैगरी दुईजनाको डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ बरमझियास्थित सडकमा प्र.२-०२-००६ प २६५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार शहिदनगर नगरपालिका-९ बस्ने ४५ वर्षीया कुमारी देवी मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित सडकमा ज. १ त ५२४५ नम्बरको ट्रयाक्टरमा ज.१० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना
हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय राम एकवाल ठाकुर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया सतो साह सुडी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा बागमती प्रदेश-०१-०२५ च २००७ नम्बरको पिकअप र प्र.२-०२-००१ ह ०३३३ नम्बरको टेम्पु एक-आपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा टेम्पु चालक धनुषा मिथिला नगरपालिका-१० बस्ने ३४ वर्षीय दिपक स्याङतानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गढीमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटपस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय प्राविधिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

घरको चौथो तलाबाट खसेर मृत्यु
काठमाडौं महानगरपालिका-८ ढल बिकास नजिक निर्माणाधिन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको छ। उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

डुबेर मृत्यु

मोरङको ग्रामथान गाउँपालिका-६ नेताचोकस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने वीर बहादुर तामाङकी छोरी १३ वर्षीया प्रतिमा तामाङको शनिबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल हुँदै कोशी अस्पताल विराटनगरमा थप उचारको क्रममा मृत्यु भएको हो।

मुगुको छायाँनाथ रारा नगरपालिका-१३ रुगा बस्ने ४६ वर्षीय मान बहादुर लावडको सोही ठाउँस्थित कर्णाली नदीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ। पानी पिउन जाने क्रममा चिप्लिएर उक्त नदीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु

क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैया बस्ने ५० वर्षीय राम साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ। आफ्नै पोखरीमा मोटरले पानी पटाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 05, 2023| 12:52 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्