काठमाडौं- नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिविमा केही दिनअघि भएको दुई समूहबीचको झडपबारे सत्यतथ्य बुझ्न छानबिन समिति गठन हुने बताएका छन्।
नेविसंघका दुई समूहबीच झडप हुँदा पूर्वकोषाध्यक्ष शिव रिमाल, हरि आचार्य र पदम भट्टराई घाइते भएका थिए। फागुन १८ मा भएको उक्त घटनाबारे बुझ्न छानबिन समिति गठन गरिने अध्यक्ष शेर्पाले विज्ञप्ति मार्फत जनाएका छन्।
‘यो दु:खद घटनाको सत्यतथ्यका लागि छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ कामना गर्छु,’ उनले भने। उनले संगठनभित्रका आन्तरिक एकतालाई मजबुत बनाउन आफूले हल खोज्नेसमेत बताए।