बुधबार, असार ११, २०८२

क्षेत्रीहरू पनि आदिवासी हुन् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे। 
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन्। उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे। 

शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरूले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने बताए।  उनले भने, ‘क्षेत्रीहरू आदिवासी हुन कि होइनन् भन्ने कुरा अलि गहिरो विषय छ। र, यसको इतिहास, तथ्यहरू हामीले हेर्न जरुरी छ। मलाई लाग्छ–क्षेत्रीहरू पनि आदिवासी हुन् भन्ने कुरा चाहिँ सही हो। 

यसका लागि आन्दोलन पनि उठेको थियो। र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन। र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो। त्यसमा हाम्रो अध्ययन पुग्नु पर्छ। गहिरिएर जानु पर्छ। आदिवासीहरु एकताबद्ध हुनु पर्छ जस्तो लाग्छ। त्यसो गर्दा आदिवासीहरूको बीचमा जो विभाजन आउँछ। अथवा बुझाइमा जो फरक पर्न जान्छ। त्यसले हाम्रो एकतालाई टुटाउने गर्छ। त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरू गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह विना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समुदायलाई एकताबद्ध गर्न सक्नु पर्दछ। मेरो अध्ययनले क्षेत्रीहरू आदिवासी नै हुन भनेर महसुस गर्छ। पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन। हाम्रा कतिपय मुद्दाहरू संविधान सम्बोधन हुने क्रममा छन्। त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरू गर्ने नै छौँ।’

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे। उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताए।

प्रकाशित: Mar 04, 2023| 18:38 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्