आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारको प्राथमिकता सबैका घरघरमा इन्टरनेटको पहुँच : सञ्चारमन्त्री शर्मा

सरकारको प्राथमिकता सबैका घरघरमा इन्टरनेटको पहुँच : सञ्चारमन्त्री शर्मा

साइबर सुरक्षा, तथ्यांकको सुरक्षा तथा गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको मन्त्री शर्माको धारणा।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिकता दिएर सबै नागरिकको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन्।

शनिबार नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सव अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले मोबाइल र दूरसञ्चार सेवाशुल्कलाई किफायती बनाएर नागरिकलाई सहज इन्टरनेट सेवा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताएकी हुन्।

सरकारका प्रवक्तासमेत रहेकी उनले दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिइन्। मन्त्री शर्माले भनिन्, ‘सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन आग्रह गर्न चाहन्छु। प्राधिकरणले उपलब्ध राज्यको स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ।’

उनले प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमन व्यवस्था गर्न पनि आग्रह गरिन्। विश्वव्यापी रुपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको औंल्याइन्। 

दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसङ्गति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ, यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्बोधन गर्नुपर्ने बताइन्।

Metro Mart
worldlink

प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी सञ्चालित आयोजनाको नतिजा, भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न अब ढिलाइ गर्न नहुनेमा जोड दिँदै उनले दूरसञ्चार कोषको रकमबाट दूरसञ्चार पूर्वाधार र दूरसञ्चार सेवा प्रवाहको प्रभावकारी व्यवस्थाका लागि प्राधिकरणले वस्तुनिष्ठ कार्ययोजना बनाउन पनि सुझाव दिइन्।

मन्त्री शर्माले भनिन्, ‘मध्यपहाडी लोकमार्गलाई जोड्ने जिल्ला सदरमुकाम तथा उत्तरदक्षिण मार्गमा अप्टिकल फाइबर बिछ्याई राष्ट्रिय सूचना महामार्ग तयार पार्ने, देशभरका सबै जिल्ला सदरमुकाम, नगरपालिका, गाउँपालिका, विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड सेवा पु¥याउने कार्यलाई द्रुत रुपमा अघि बढाउनु आवश्यक छ।’

‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ मा परिकल्पना गरिएको डिजिटल नेपालको अवधारणालाई मूर्त रुप दिन नेपाल दूरसञ्चार प्राधिकरणले खासगरी डिजिटल फाउन्डेसन क्षेत्रमा पूर्वाधार निर्माण तथा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। साइबर सुरक्षा, तथ्यांकको सुरक्षा तथा गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उनले बताइन्।

प्रकाशित: Mar 04, 2023| 17:02 शनिबार, फागुन २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्