बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पदयात्राका कारण पर्वतका होम-स्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै 

पदयात्राका कारण पर्वतका होम-स्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै 

 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

पर्वत- पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम-स्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ। जिल्लाका गाउँगाउँमा होम-स्टे सञ्चालनमा छन्। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को समयमा ठप्प बनेका अधिकांश होम-स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन्। गण्डकी प्रदेशकै अग्रणी होम–स्टे सेवा दिँदै आएको मोदी गाउँपालिका-८ चित्रेस्थित सामुदायिक होम-स्टेमा आउने पाहुनाको सङ्ख्या दैनिकजसो बढ्दै गएको छ। ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होम-स्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए। 

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होम–स्टेमा आउनेहरु आकर्षित हुने गरेका छन्। अहिले आन्तरिक पर्यटक आउने क्रम कोभिड-१९ भन्दा अघिकै जस्तै हुन थालेको उनले बताए। पोखरा र काठमाडौँबाट समेत  विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको गुरुङले बताउँछन्।

यहाँ वार्षिक तीन हजारभन्दा बढी पर्यटक होम-स्टेमा पुग्ने गरेको तथ्याङ्क छ। ‘कोभिड–१९ का बीचमा पनि हामीले होम-स्टे खुला गरेका थियौँ, अब आन्तरिक मात्र नभएर बाह्य पर्यटक आउने क्रम सुरु भएको छ’, उनले भने, ‘विस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ।’

चित्रेको होम-स्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ। कतिपय ठाउँमा होम-स्टे चलाएरनै दैनिक गुजारा चलाउनेको दैनिकी रहने गरेको भए पनि चित्रेमा होम-स्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन। 

जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होम-स्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ। समितिका अनुसार चित्रेको होम-स्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ।

 चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ रहेका कारण पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ। होम-स्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ। खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ। चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होम-स्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए।  

मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए। गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारी समेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए। 

उता जिल्लाको कुश्मा नगरपालिका-३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेवास नगरपालिका-२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। 

प्रकाशित: Mar 03, 2023| 22:30 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्