बुधबार, असार ११, २०८२

धुम्म मौसमले बिहानी भिजिबिलिटी घट्दो

केही समय यता मौसम धुम्म हुँदा बिहानी पख देशका अधिकांश स्थानको भिजिबलिलिटी घट्दो छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- केही समय यता मौसम धुम्म हुँदा बिहानी पख देशका अधिकांश स्थानको भिजिबलिलिटी घट्दो छ। एक हप्तायता धेरै ठाउँको मौसम धुम्मिरहेको छ। मौसम धुम्मिए पनि पानी भने पर्न सकेको छैन।

पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको छ। तर, पश्चिमी निम्न चापीय प्रणाली कमजोर हुँदा पानी पर्न सकेको छैन। यसले गर्दा जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिरहेको छ। जस कारण मौसम धुम्म भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी निम्न चापीय प्रणाली पानी पार्ने गरी सक्रिय नहुँदा यसपालि हिउँदमा खासै पानी पर्न सकेन। पानी नपर्दा प्रदूषण बढेको छ।

गाडीबाट निस्किएका धुवाँसहित धुलोका कणहरु वायुमण्डलमा रहेका पानीका कणहरु टाँसिन थालेकाले भिजिबिलिटीसमेत घट्न थालेको छ। आज पनि धेरै ठाउँको मौसम धुम्म छ भने भिजिबिलिटी घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको भिजिबिलिटी १५ सय मिटर मात्रै छ। यसले गर्दा उडान अवतरण प्रभावित भएको छ। त्रिभुवन विमानस्थलबाट बिहानको समयमा हुने उडान अवतरण प्रभावित भएका छन्।  भिजिबिलिटी १५ सय मिटरसम्ममा अवतरण गर्न सक्ने दुई वटा अन्तर्राष्ट्रिय उडानका जहाज  बिहान  त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। तर उडान भने सुरु हुन सकेको छैन। भिजिबिलिटी बढ्दै गएपछि मात्रै उडान थाल्ने विमानस्थल कार्यालयले जनाएको छ।

पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण आज दिउँसो पछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान छ।

प्रकाशित: Mar 03, 2023| 08:15 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्