काठमाडौं- लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ।
गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए। ‘गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ’, उनले भने।
उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भइ इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ। साथै नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ। नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेसी शहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ।
अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका लागि ५९ लाख खर्च गरी काम सुरु गरिसकेको छ। जसमा हालसम्म पोखरी पुनःसंरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको छ।
पर्यटन व्यवसायी राजेन्द्र वस्तीले लमजुङ पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको जिल्ला भएको र त्यसमा पनि दोर्दीमा पदमार्गको राम्रो र नयाँ सम्भावना रहेको बताए।
उनले उक्त पदमार्गमा एक हजार नौ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पुग्न सक्ने बताए। उनले केही समयअघि टानको सहकार्यमा पदमार्गको नक्साङ्कन तथा प्रचारप्रसारको प्रयास भइरहेको जानकारी दिए।