बिहीबार, असार १२, २०८२

तरकारीको उत्पादनसँगै भाउ पनि घट्यो

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

मोरङ- मोरङको लेटाङ नगरपालिका–८ र ९ तरकारी उत्पादनका लागि उर्बर भूमि हो। यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन्।

टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन्। अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरू चिन्तित बनेका हुन्।

अघिल्लो वर्ष प्रतिकिलो ६० रुपैयाँसम्ममा बिक्री भएको सिमीको यो साल भने २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्थानीय कृषक डम्बरकुमारी कार्की बताउँछन्।

उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको संख्या बढ्दो छ। सिँचाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन्। तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आइएकोमा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरूको भनाइ छ।
नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ। लेटाङमा रहेका ५ वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन्। वार्षिक १०/१० करोड रुपैयाँ माथिको टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन।

टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८ स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताउँछन्। 

समयमै बीउ मल र बजार नपाउँदा किसान चिन्तित बन्दै गएका छन्। त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ। समयमै मल बीउ, आकाशे पानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बू बताउँछन्।

उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला शहर काठमाडौं र पोखरामा माग बढी हुने गरेको छ। जाँतेमा करीब ५०० हेक्टर जमिनमा १ हजार ५०० हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन्। समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताउँछन्।

प्रकाशित: Mar 02, 2023| 20:15 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्