बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सप्तरीको सम्भुनाथ नगरपालिकाका प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

सप्तरीको सम्भुनाथ नगरपालिकाका प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेका थिए।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- सप्तरीको सम्भुनाथ नगरपालिकाका प्रमुख र इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

पहिला नगरपालिकाका इन्जिनियर साहले सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिँदै गरेको अवस्थामा इटहरीबाट खटिएको अख्तियारको टोलीले रंगेहात फेला परेको थियो। माघ ३ गते नियन्त्रणमा लिइएका साहमाथि अनुसन्धान गर्दै जाँदा उक्त घुस प्रकरणमा नगरप्रमुख गुप्ताको पनि मिलेमतो देखिएकाले उनीहरु दुवै जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरु दुवै जनाको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ मागेका थिए। उक्त रकमसहित अख्तियारले साहलाई रंगेहात पक्राउ गरेको थियो।

उनीहरु दुवै जनालाई एक लाख ४० हजार जनही कायम हुनेगरी बिगो मागदाबी गरिएको छ। साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना मागदाबी गरि आरोपपत्र दायर गरिएको छ। 

प्रकाशित: Mar 01, 2023| 20:29 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्