काठमाडौं– नेपालको पर्यटनले क्रमशः सुध्रिने संकेत देखाएको छ। कोरोना महामारीले थला परेको पर्यटन उद्योग पुनः लयमा आउन थालेको हो।
पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार सन् २०२३ को फेब्रुअरीमा मात्रै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या ७३ हजार बढी पुगेको छ।
जनवरीमा नेपालमा ५५ हजार बढी विदेशी पर्यटक भित्रिएका थिए। फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक भित्रिएका छन्। सन् २०२३ को दुई महिने अवधिमा १ लाख २८ हजार बढी पर्यटक नेपाल आएका छन्। फेब्रुअरीमा नेपालबाट ६५ हजार ५७४ पर्यटक विदेश गएको बोर्डको तथ्यांक छ।
फेब्रुअरीमा भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन सबैभन्दा बढी हो। यस्तै, अमेरिकाबाट ७ हजार ८८७, थाइल्यान्डबाट ४ हजार ८०२, बेलायतबाट ४ हजार ३४५ पर्यटक आएका छन् ।
दक्षिण कोरियाबाट ३ हजार २४६, अस्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६ र म्यानमारबाट २ हजार २३२ पर्यटक नेपाल भित्रिएका छन्।
बोर्डका अनुसार श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल घुमफिरमा आएका छन्। नेपालमा सन् २०२२ मा १९ हजार ७६६ जना पर्यटक भित्रिएका थिए । २०२१ मा ९ हजार १४६, सन् २०२० मा ९८ हजार १९० र सन् २०१९ मा १ लाख २ हजार ४२३ पर्यटक नेपाल घुम्न आएका थिए।