काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अछामका पृथ्वीबहादुर शाहले ४६ लाख ४६ हजार अमेरिकी डलर (६१ करोड ३४ लाख नेपाली रूपैयाँ)को शंकास्पद कारोबार गरेको निष्कर्ष निकाल्दै सांगठनिक अपराधको मुद्दा चलाउन सुझाव दिएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले शाहको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको जानकारी गराएको हो।
प्रहरीले पुस २३ गते विदेशी नागरिकलाई ठगी गरेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका-६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर शाह, २५ वर्षीय विजय विक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका-८ बस्ने २७ वर्षीय चक्र बहादुर खत्री, दोलखा खोपाचागुं घर भई काठमाडौं बूढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्नेहरू ४४ वर्षीय अनुप खड्का, नवलपरासी(पश्चिम) बर्दघाट नगरपालिका-४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने २७ वर्षीय रंग बहादुर साउँदलाई पक्राउ गरेको थियो।
उनीहरूविरुद्ध अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोप छ। शाहसहित १३ जनाविरुद्ध ब्यूरोमा २४ उजुरी परेकोमा ७ जना पक्राउ परेका छन् भने बाँकी अझै फरार छन्। शाहको समूहले विदेशी नागरिकलाई ठगी गरी २४ भन्दा बढी कम्पनी स्थापना गरी अनधिकृत रुपमा विदेश लगानी भित्र्याएको सीआईबीको अनुसन्धानले देखाएको छ।
शाहको समूहलाई पूर्वअर्थमन्त्री जनार्दन शर्माको संरक्षण रहेको थियो। शर्माले नेपाल राष्ट्र बैंक र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि शाहको बैंकिङ कारोबार रोक्का गर्दा हस्तक्षेप गरेका थिए। विभिन्न ११ बैंकमा अनधिकृत पैसा आएपछि उक्त खाता रोक्का गरी राष्ट्र बैंकले विभागलाई पत्र लेखेको थियो।
तर पूर्वअर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई अनधिकृत रुपमा ती सबै खाता खुला गर्न निर्देशन दिएका थिए। विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बेला पूर्वअर्थमन्त्री शर्माले लिखित निर्देशन दिई शंकास्पद ४० करोड रुपैयाँ छुटाउन हस्तक्षेप गरेका थिए।