बिहीबार, असार १२, २०८२

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जना पक्राउ 

देशका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ परेका छन्।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- देशका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ परेका छन्। काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक जनालाई प्रहरीले पक्रउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा बस्ने २८ वर्षीय राज कुमार मगर रहेको प्रहरीले जनाएको छ। 
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले रोल्पाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ८८२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 
    
यसैगरी, मोरङ, बेलबारी नगरपालिका-१ गुम्बा लाईन डेरा गरी बस्ने २९ वर्षीया हिरा राईलाई लागूऔषध गाँजा १० किलो ३ सय ४४ ग्रामसहित एक जना पक्राउ  परेको प्रहरीले जनाएको छ।

उनले लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा र ५२ हजार ५ सय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो। 

त्यसैगरी, मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २८ मिलिग्रामसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय कालु सिंह लिम्बु रहेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१८ प १०९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 
यस्तै, म्याग्दीको बेनी नगरपालिका-८ कालिपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारत पश्चिम बंगाल घर भई कास्की पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई मंगलाबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला परेको थियो।
 
त्यसैगरी, मकवानपुर, मनहरी गाउँपालिका-९ ढकाल खोल्सीबाट लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सुमन प्रजा रहेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बोरामा उक्त गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो। 

यसैगरी, बाराको बिश्रामपुर गाउँपालिका-१ कल्याणपुर सिमाबाट नियन्त्रित लागूऔषध नुर्फिन ७२ पिस, डाइजेपाप ७० पिस र फेनारगन ७१ पिससहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बस्ने २७ वर्षीय सहजाद अंसा रहेको प्रहरीले जनाएको छ। सिमा प्रहरी चौकी छतबाट र एफओबि छतवाबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। 
यसैगरी, पर्साको वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्रामसहित एक जना पक्राउ परेका छन्।

भारत घर भएका २९ वर्षीय महमद नाएम शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Mar 01, 2023| 15:56 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्