काठमाडौं– सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले गुल्मीको रेसुंगा विमानस्थलमा बुधबारदेखि गर्ने भनिएको उडान शुक्रबारसम्मलाई सारिएको छ।
निगमले रेसुंगा विमानस्थलमा व्यावसायिक उडान थाल्नुअघि बुधबार परीक्षण उडान गर्ने पूर्वनिर्धारित कार्यतालिका तय भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण बुधबारको उडान रोकिएको वायुसेवा सञ्चालक संघ प्रवक्ता तथा रेसुंगा विमानस्थलमा उडान सहजीकरण गरिरहेका योगराज कँडेलले बताए।
कर्मचारी र आवश्यक उपकरण शुक्रबार मात्रै काठमाडौंबाट गुल्मी लगिने भएकाले तयारी पूरा नहुँदा आजको उडान स्थगित भएको उनको भनाइ छ।
परीक्षण उडान अवतरणमा पाइलट, डिस्प्याचर, इन्जिनियर र प्राधिकरणका प्राविधिक मात्र सहभागी हुनेछन्। परीक्षणपपछि उडानपछि निगमले गुल्मीमा नियमित उडान गर्ने सम्झौता दुई दिनअघि भइसकेको छ।
निगमको १८ सिटे ट्वीनअटरले रेसुंगा विमानस्थलमा प्रत्येक सोमबार नियमित र त्यसपछि यात्रु बढे उडान संख्या थप्नेछ। काठमाडौंबाट उडेको नेवानि जहाज एक घन्टे समयावधिमा गुल्मीको रेसुंगा विमानस्थलमा अवतरण गर्नेछ। यसअघि २४ पुसमा रेसुंगा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको थियो।