धनगढी- सुदूरपश्चिम यातायातका व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ। आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचाररत ७१ वर्षीय पाण्डेयको आज बिहान निधन भएको हो।
पान्डेयको निधनले यातायातको क्षेत्रमा अपुरणीय क्षती पुगेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए। उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पुर्याएको योगदान कहिले बिर्सन नसकिने बताए।
सुदूरपश्चिम यातायात व्यवसायी संघका पूर्वअध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले सुदूरपश्चिम क्षेत्रमा सार्वजनिक यातायातको जग बसाल्ने काममा पाण्डेयको योगदान रहेको बताए। उनले विषम परिस्थितिमा समेत सम्पूर्ण यातायात व्यवसायीलाई एकजुट बनाई सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय योगदान रहेको भन्दै पाण्डेयको निधनले स्तब्ध बनाउएको बताए।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले पाण्डेको निधनले प्रालिले अभिभावक गुमाउनु परेको पीडा सदैव रहने बताए।