काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू गर्ने भएको छ। २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुने कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ।
आगामी राष्ट्रपति निर्वाचनका लागि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्बार चुनावी मैदानमा छन्।
संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले मंगलबार सूचना निकालेर जानकारी दिएको हो।
आचारसंहिता सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने आयोगले प्रस्ट पारेको छ।
राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणना स्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुने आयोगको सूचनामा भनिएको छ।
आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैसँग सहयोगको अपेक्षा गरेको छ।