सप्तरी- सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ। कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको हो।
सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
उनीहरूलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ।
यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन।