काठमाडौं– मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौं उपत्यकाका धेरै सडकमा क्षति पुगेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ। उपत्यकामा हाल मेलम्ची पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको हो।
लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलंकी, ताहाचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलंकी सडकका विभिन्न खण्ड, लगनखेल, कुपन्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायत स्थानमा खाल्डाखुल्डी देखिएका छन्। खाल्डाखुल्डी देखिएपछि टालिहाल्ने गरिएको भए पनि त्यस आसपासमा नयाँनयाँ चुहावट देखिरहेको देख्न सकिन्छ ।
मेलम्ची पानीले खाल्डा बनाएका कुनै–कुनै सडक निर्माण भइसकेको र कतै सुरु गरिएको डिभिजनका सूचना अधिकारी सुमित केसीले बताए। उनका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पहिले पुनःस्थापना(खाल्डाखुल्डी पुर्ने काम) गरेपछि नै त्यहाँको सडक मर्मत गरिनेछ ।
कम्पनी र कतै कतै आयोजना कार्यान्वयन निर्देशनालयले पुनःस्थापना गर्दा राम्रो काम नभएर दबिएकाले पुनः काम गर्न लगाइएको उनको भनाइ छ। ती निकायले तत्काल पुनःस्थापना गरे छिट्टै सडक बनाइने गरिएको उनले बताए। सडकमा पानी जमेर कमजोर भइरहेको र यसले पछिसम्म बिग्रन सक्ने सूचना अधिकारी केसीले जानकारी दिए।
टालटुल गरेपछि पनि सडक पहिलेजस्तो बलियो नहुने उनको धारणा छ। ललितपुर र भक्तपुरका तुलनामा काठमाडौंका सडकमा बढी क्षति भएको पाइएको उनले जनाए।
डिभिजनले हेरिरहेको सडकमध्ये ९० प्रतिशत स्थानमा खाल्डाखुल्डी टालिसकिएको सूचना अधिकारी केसीले बताए। उनका अनुसार गत वर्षहरुभन्दा यस वर्ष वर्षा कम खाल्डाखुल्डी हुने गरी अहिलेदेखि नै मर्मत अघि बढाइएको हो। उनले भने, ‘देखेसम्म काम भइरहेको छ तर पानी र चुहावटले कति खाल्डा हुन्छ भन्ने थाहा हुँदैन।’
जोरपाटी–सुन्दरीजल सडकमा धेरै पाइपलाइनमा चुहावटको समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। आयोजनाले बनाउनासाथ लिमिटेडले सडक खन्ने काम भइरहेको सूचना अधिकारी महानन्द जोशीले बताए। चुहावट आज एक ठाउँमा देखिएर बनाउँदा अर्काे दिन अर्काे ठाउँमा समस्या देखिइरहेको उनको भनाइ छ। उनले भने, ‘कतै सडकमै पाइपमा त कतै घरघरसम्म जाने पाइपमा समस्या देखिरहेको छ।’
अहिले हरेक सडकमै चुहावटको समस्या रहेको सूचना अधिकारी जोशीले बताए। नख्खुबाट भैंसेपाटी सडक, सातदोबाटो–गोदावरी सडक, चावहिल–साँखु र भक्तपुर गरी निर्माणाधीन वा भर्खर कालोपत्र भएका सडक क्षति पुगिरहेको उनले जानकारी दिए। जोशीले भने, ‘अहिले विद्युत्को तार अन्डरग्राउण्ड गर्न पनि खन्ने काम भइरहेको छ।’
सडकमा पूर्वाधार रहेका निकायका बीचमा समन्वयको कमी हुँदा उपत्यकाका सडकमा खाल्डाखुल्डी भएको भन्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै समन्वयका लागि काम सुरु गरेका छन्। नियमित समन्वयका लागि संयन्त्र बनाएको छ भने नियमित अनुगमन र बैठक भइरहेका छन्।