काठमाडौं- महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी भएको छ।
महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यअनुसार भएको साझेदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन्।
समझदारीअन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउने छ। एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रमसम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ।
समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरू लगाउने छ। यो स्टलहरूमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन्। यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ।
वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ। यस साझेदारी अन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन्।
सरकारले अवलम्बन गरेको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसका दिन दीगो बैंकिङको सुरुवात गरेको थियो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दीगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरिसकेको जनाएको छ।