मंगलबार, असार ३, २०८२

मौसमबारे चासो बढाउँदै महोत्तरीका किसान

आफ्नो ठाउँमा मौसम स्टेसन सञ्चालनमा आएपछि सर्वसाधारण किसान अब कस्तो मौसम हुने हो भन्ने कुरामा अत्याधुनिक मोबाइल चलाउनेहरुसँग चासो बढाउन लागेका हुन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

महोत्तरी- आफू अत्याधुनिक सूचना प्रणाली जडित मोबाइल राख्न र चलाउन नजाने पनि यहाँका किसान अब स्थानीय मौसमबारे चासो बढाउन थालेका छन्। 

आफ्नो ठाउँमा मौसम स्टेसन सञ्चालनमा आएपछि सर्वसाधारण किसान अब कस्तो मौसम हुने हो भन्ने कुरामा अत्याधुनिक मोबाइल चलाउनेहरुसँग चासो बढाउन लागेका हुन्। यहाँका चार स्थानीय तहमा मौसम स्टेसन स्थापना भएर सञ्चालनमा आएपछि सर्वसाधारण किसानमा यस्तो चासो बढेको हो। जिल्लाका भङ्गाहा, बर्दिबास, गौशाला र औरही नगरपालिकामा मौसम स्टेसन सञ्चालनमा छन्।

'हैन, फागुन मध्य पनि हुन लाग्यो, पूरै हिउँद पानी नपरी बित्यो, अहिले फेरि बिहान आकास धुम्मिएको देखिँदैछ, अब के होला?', मोबाइलमा स्थानीय मौसम सूचना प्रणाली समाविष्ट गराएका छिमेकी भतिज नन्दकिशोर चौधरीसँग भङ्गाहा–३ भङ्गाहा तल्लो थारूटोल बस्तीका ६५ वर्षीय लक्ष्मीकान्त चौधरीले चासो राख्दै सोधे। मुसुरो, चना र अरहर (रहरी)सहितका दलहन र गहुँ बाली हिउँदे पानी नपरेर फस्टाउन नसकेको चिन्ता गर्दै चौधरीले अब कस्तो मौसम रहला भन्ने चासो जनाए।

पूरै हिउँद पानी नपरी बित्दा त्यसले बालीनालीमा पारेको प्रतिकूल प्रभावले दिक्क भएका यस भेगका किसान फागुन मध्यपछि हावाहुरी क्रमशः बढ्दै जाने विगत अनुभव सम्झँदै यसपालि कस्तो हुने हो भन्ने चिन्तामा छन्। 'अहिले एक–दुई दिनदेखि फेरि आकास धुम्मिएको छ त, के स्टेसनले पानी पर्ने देखाएको छ?', भङ्गाहा–४ रामनगरका अर्का ७८ वर्षीय किसान दीपबहादुर फुयाँलले मौसम स्टेसनले दिने जानकारीबारे चासो राख्दै छिमेकी युवा रामईश्वर ठाकुरलाई सोधे।

मौसम स्टेसनबाट केही दिनपछिको स्थानीय मौसमबारे पूर्वानुमान गर्न सकिने कुरा सुनेका यस भेगका किसान अब जानकारी लिएर खेतीपातीबारे तयारी गर्नु राम्रो हुने बताउँछन्। केही दिनपछिसम्मको मौसमीय अवस्थाबारे पूर्वानुमान गर्न सकिएपछि बालीनाली लगाउन र त्यसको सुरक्षामा ध्यान दिन सहयोग पुग्ने यहाँका किसानको भनाइ छ।

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासको साझेदारीमा सञ्चालित लिरिक परियोजनाअन्तर्गत जिल्लाका चार नगरपालिकामा अहिले मौसम स्टेसन स्थापित भएर सञ्चालनमा आएका हुन्। चारवटै स्टेसनको स्थानीय व्यवस्थापन अहिले साझेदार संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले गरेको छ।

'जडान गरिएका मौसम स्टेसनले निश्चित भूगोलभित्रको केही दिन पछिसम्मको मौसमबारे पूर्वजानकारी दिने हुँदा यसले खेतीपातीमा मौसमी अवस्थाअनुसार लाग्न सहयोग गर्छ', स्टेसनहरुको मुख्य व्यवस्थापक सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले भने, 'आम रुपमा किसान अब मौसमको पूर्वानुमानले खेतीपातीबारे सोअनुसार तयारी गर्नसक्ने छन्।' 

सामान्यतया वर्षा, शीतलहर, गर्मी, असिनापानी र हावाहुरीबारेको पूर्वजानकारीले किसान सोअनुसार पूर्वतयारीमा लाग्नसक्ने यादवको भनाइ छ। मौसम स्टेसन भूगोलअनुसार निश्चित क्षेत्रफलको जानकारी दिने भन्ने योजनाअनुसार नै स्थापना गरिएको छ। वैज्ञानिक सूचना प्रणालीअनुसार स्थापित यी स्टेसन राखिएका क्षेत्रको मौसम पूर्वानुमान 'एन्ड्रोइड' मोबाइलमा 'युजर नेम' र 'पासवर्ड' का माध्यमबाट सजिलै खोलेर विश्वका कुनै पनि ठाउँबाट हेर्न सकिन्छ। 

अब ग्रामीण क्षेत्रका बस्तीमा समेत अत्याधुनिक मोबाइल हुने र चलाउने बाक्लै भेटिने हुँदा सर्वसाधारणले एकअर्काबीचको संवादले सहजै थाहा पाउनेछन्। स्टेसन सञ्चालनमा आएका नगर क्षेत्रका कैयौँ युवाले आफ्नो मोबाइलमा मौसम सूचना प्रणाली समाविष्ट गराइसकेका मौसम स्टेसनका प्राविधिक पप्पु यादव बताउँछन्।

'मौसमबारे चासो बढाउने किसान निकै बढेका छन्, आफू मोबाइल चलाउन नजाने पनि किसानले हामीसँग र योबारे जान्ने आफ्नै टोलछिमेकीसँग सोध्ने गरेका देख्दैछौँ', यादव भन्छन्, 'सर्वसाधारण किसानमा बढेको यो चासोले खेतीपातीमा सहजता थप्नेछ।' यी चारवटै नगर क्षेत्रमा स्थापना गरिएका मौसम स्टेसनले नगरभरिको मौसमसम्बन्धी पूर्वानुमानको जानकारी दिन्छन्। 

मौसमको पूर्णजानकारी लिन 'अन्डरग्राउन्ड वेदर' भन्ने 'एप' डाउनलोड गर्नुपर्ने हुछ। उक्त एपमा प्राविधिकले सुरक्षित गरेको आइपी ठेगाना हालेपछि मौसमको वस्तुस्थिति थाहा पाउन सकिने प्रणाली व्यवस्थित गरिएको छ। एन्ड्रोइड मोबाइल राम्ररी चलाउन जान्नेले यो जानकारी तत्कालै थाहा पाउन सक्ने यादव बताउँछन्।


प्रकाशित: Feb 22, 2023| 19:30 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।