काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० को ९ फागुनसम्म निकुञ्ज क्षेत्रमा मात्रै १४ गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले विवरण सार्वजनिक गरेको छ।निकुञ्ज क्षेत्रमा १२ तथा वन सेरोफेरोमा गरी दुई गैंडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आवमा चोरी सिकारीले तीन गैंडा मरेका छन्। यीमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैंडा मारेको उनले बताए।
निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गंैंडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन् । सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर ७५२ गैंडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैंडा छन्।
चोरी सिकारीले गैंडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ। यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ।
गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैंडा मरेका थिए। निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा चार गैंडा मरेको तिवारीले जानकारी दिए। गत आवमा चोरी–सिकारीबाट दुई गंैंडा मरेका थिए।