सोमबार, वैशाख २२, २०८२

आम्दानीको बलियो स्रोत बन्दै अम्रिसो खेती

पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साहित भएका छन्। दुई वर्षअघि मुस्किलले प्रतिकिलो ४० का दरले बिक्री हुने अम्रिसो प्रतिकेजी १२५ रुपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

म्याग्दी- भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो जिल्लाका किसानको आम्दानीको बलियो स्रोत बनेको छ।

पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साहित भएका छन्। दुई वर्षअघि मुस्किलले प्रतिकिलो ४० का दरले बिक्री हुने अम्रिसो प्रतिकेजी १२५ रुपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन्। यो वर्ष अम्रिसो बेचेर जिल्लाले १४ लाख रुपैयाँ आम्दानी गरेको अगुवा कृषक चन्द्र कार्कीले बताए।

मूल्यमा उतारचढाव आइरहे पनि व्यवसायीले यो वर्ष प्रतिकिलो १०० देखि १२५ रुपैयाँसम्म किसानबाट खरिद गरिरहेका छन्। अम्रिसोको व्यापार गर्दै आएका यामबहादुर  सापकोटाले सात क्विन्टल अम्रिसो जम्मा गरेका छन्। उनी बेनी,बागलुङ र पोखरासम्म पुर्‍याएर अम्रिसो बेच्ने गर्छन्। अर्मन र बेनी नगरपालिकाका किसानले अझै पनि अम्रिसो बिक्री गर्न बाँकी रहेकाले यो वर्ष केही बढ्नसक्ने उनले बताए। अम्रिसो पोखरासम्म पुर्‍याउँदा गत वर्ष १४० मा बिक्री गरेका उनले यो वर्ष रु १६० सम्ममा बेचेको बताए।

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायी बताउँछन्।​ अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ। अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ। हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निकै उपयोगी हुन्छ। ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको छ।

गुणस्तरीय जीवन विषयमा विद्यावारिधि गरेका डा.माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो। यसको अंग्रेजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो। 

Metro Mart
worldlink

ग्रेमिनी–पोएसी वानस्पतिक परिवारमा पर्ने यो वहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुन्छ। यसका पात ३० सेन्टिमिटरसम्म लम्बाई र पाँच सेन्टिमिटर चौडाइ भएका हुन्छन्।

बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ। यो प्रायः उष्ण तथा उपोष्ण जलवायुमा राम्ररी सप्रिन्छ। यसको उपयोग कुचो बनाउन गरिए पनि अन्य विभिन्न क्षेत्रमा पनि यसको महत्त्वपूर्ण उपयोग गरिन्छ।  कागज कारखानामा कच्चा पदार्थको रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इन्जिनियरिङका लागि उपयोगी अम्रिसो माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि रोपिन्छ।

बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारको आवश्यकता पर्दैन। यो एकपटक रोपिसकेपछि आफैँ राम्रोसँग हुर्किन सक्छ। रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रिन्छ।

साधारणतया माघ–फागुनमा गुच्छासहितको डाँठ काटेर संकलन गरिन्छ र घामको प्रकृति हेरी ४ देखि ७ दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालय म्याग्दीका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटाले बताए।

राम्रोसँग व्यवस्थापन गर्न सकेमा अम्रिसोबाट ६ देखि १० वर्षसम्म उत्पादन लिन सकिन्छ।


प्रकाशित: Feb 22, 2023| 06:15 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्