काठमाडौं– रोजगारीका क्रममा साउदी अरब पुगेर दुई वर्षदेखि जेलमा रहेका धनकुटाको चौबिसे गाउँपालिका–४ का दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार दिनेशका बुबा गणेशबहादुर कार्कीसहितको टोलीले प्रचण्डलाई बालुवाटारमा भेटेर साउदीमा जेल जीवन बिताइरहेका छोराको सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेपछि प्रधानमन्त्रीबाट उक्त प्रतिबद्धता जनाइएको हो।
प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्। ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्। उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो’, प्रधानमन्त्री प्रचण्डले भने।
वैदेशिक रोजगारीमा रहेका नेपालीको आत्मस्वाभिमान एवं उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदीको जेलमा परेका हुन्।