काठमाडौं- बालाजुमा भएको लुटपाट तथा आगजनीको घटनामा छानबिन गर्न गठित समितिले बालाजु र सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपीद्वय रविन विष्ट र गणेशबहादुर बमलाई विभागीय कारबाहीको सिफारिस गरेको छ। समितिले आज प्रतिवेदन बुझाउँदै बालाजुमा कार्यरत डीएसपी विष्ट र सोह्रखुट्टेमा कार्यरत डीएसपी बमलाई कारबाही गर्न सिफारिस गरेको हो।
घटना हुनुमा दुवै डीएसपीकको फिल्ड व्यवस्थापकीय भूमिका कमजोर देखिएको ठहर गरिएको छ। ‘जुन घटना भयो, त्यसमा डीएसपीद्वय विष्ट र बमको कमजोरी देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘उनीहरुलाई विभागीय कारबाहीको लागि सिफारिस गरिन्छ।’
फागुन १ गते बालाजुमा भएको लुटपाट र प्रहरीको गाडी आगजनीको घटना छानबिन गर्न समिति गठन भएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। डीआईजी साउद आलम खानको नेतृत्वमा समिति गठन गरिएको हो। समितिमा एसएसपी हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल सहितको टोली थियो।
त्यसदिन यातायात मजदुरले १० बुँदे माग राख्दै आन्दोलन गरेका थिए। सो क्रममा तोडफोड, आगजनी, लुटपाटसमेत भएको थियो। प्रहरीका दुईवटा भ्यान जलाएको आरोपमा प्रहरीले ६ जना र लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।