काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनीयरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको ५ संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई शुक्रवार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ।
कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनीयरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यालय एनसेल आइकन लैनचौरमा आयोजित एक विशेष कार्यक्रममाझ विद्यार्थीका अभिभावक, इन्जिनीयरिङ अध्ययन संस्थानका प्राध्यापकहरू, एनसेलका व्यवस्थापनका सदस्यहरू र अन्य पाहुनाको उपस्थितिमा प्रदान गरिएको थियो।
यस वर्ष अर्थात २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनीयरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ। उत्कृष्ट नतिजा ल्याई यी ५ संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ।
पुल्चोक क्याम्पसका क्याम्पस चीफ एसोसियट प्रा.डा. इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए। एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल ईस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए।
एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनीयरिङ अध्ययन संस्थानका कार्यबाहक डीन प्रा.डा. सुशील बज्राचार्यले भने, ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरी प्रत्येक वर्ष यसरी हाम्रा विद्यार्थीलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गरिदिनुभएकोमा हामी धेरै आभारी छौं। यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम आफैंमा एक उदाहरण बनिसकेको छ। एनसेल सञ्चारमा मात्र नभई कम्पनीले विभिन्न क्षेत्रमा गर्ने सामाजिक पहलहरूका लागि पनि लोकप्रिय छ।’
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनीयरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) सँगको सहकार्यमा २०७१ सालदेखि विद्यार्थीहरूले प्राप्त गरेको नतिजाको आधारमा उनीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पुर्याउन पाउँदा हामी खुशी छौं। एनसेलमा हामी दीगो विकास लक्ष्य अनुरूप सरकारले परिभाषित गरेका ३ वटा क्षेत्रहरूलाई उच्च प्राथमिकता दिन्छौं। शिक्षा हाम्रा लागि महत्त्वपूर्ण भएकाले हामी यस पहललाई निरन्तरता दिन तत्पर छौं।’
२०७१ सालबाट शुरू गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ। प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनीयरिङ ५ संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्छन्।
कूल १८ जनामध्ये ५ वटै संकायका छात्राबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत १/१ जना गरी ३ छात्राले छात्रवृति पाउने गर्छन्। उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनीयरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछन्। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ।