सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थशास्त्रको अन्तर्राष्ट्रिय स्पर्धामा छानिए नेपालको प्रतिनिधित्व गर्ने पाँच विद्यार्थी

अर्थशास्त्रको अन्तर्राष्ट्रिय स्पर्धामा छानिए नेपालको प्रतिनिधित्व गर्ने पाँच विद्यार्थी

राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– नेपाल इकनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ। आइतबार ललितपुरमा सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन्। 

छानिएका विद्यार्थीमा बूढानीलकण्ठ स्कुलका भार्गभ चटौत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंकशंकर झा र सेन्ट जेभियर कलेजका अनुभव ढुंगाना रहेको नयोले जनाएको छ।

समापन कार्यक्रममा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अहिलेको समय आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को भएकाले च्याट जीपीटीका कारण अध्ययन अनुसन्धानदेखि अध्यापनसम्मको ट्रेन्ड परिवर्तन हुन सक्ने बताए।

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले मेडिकल साइन्सले नयाँ–नयाँ औषधि पत्ता लगाएजस्तै अर्थशास्त्रीले अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय पत्ता लगाउनुपर्ने सुझाए। उनले सम्भावना भएका प्रतिभाशाली व्यक्ति बाहिरै बस्ने हो भने यो देश कहिल्यै पनि विकसित नहुने हुँदा प्रतिभावान विद्यार्थीलाई पढ्न जहाँ गए पनि फर्केर नेपालमै आउन आग्रह गरे।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले यस्ता कार्यक्रममा सफल व्यक्तिलाई भन्दा पनि असफलताको कथा भएका व्यक्तिलाई ल्याउनुपर्ने धारणा राखे। कसैको असफलताको कथा सुन्नै नचाहने हो भने ऊ कसरी  दलदलमा फस्यो भनेर थाहा नहुने भन्दै कहाँ कति चुनौती छन् भन्ने कुरा जान्न  पनि असफलताका कथा सुन्नुपर्ने उनको भनाइ थियो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)का अध्यक्ष धर्मराज सापकोटाले नेपालको अर्थतन्त्र, सेयर बजार र वित्तीय साक्षरताबारे अन्तर्राष्ट्रिय मञ्चमा बोल्न आग्रह गरे।

प्लस टू तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमबाट अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि पाँच जना विद्यार्थी छानिएका हुन्। क्षेत्रीय प्रतिस्पर्धामा देशभरका १६२ कलेजका १००० बढी विद्यार्थी सहभागी भएकामा उत्कृष्ट ७५ जना विद्यार्थी राष्ट्रिय ओलम्पियाडका लागि छानिएका थिए। सीधै छानिएका पाँच जनासहित ८० विद्यार्थीले राष्ट्रिय प्रतिस्पर्धा गरेका थिए।

सहभागीले बिजनेस केश एनलाइसिस, सिमुलेसन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घन्टाको लिखित परीक्षा दिएका थिए। त्यहाँबाट उत्कृष्ट भएका पाँच जनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाएका हुन्। 

यसअघिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अन्तिम ३ स्थानसम्म हासिल गर्दै आएकामा यसपालि  आयोजकले गोल्ड मेडल जित्ने लक्ष्य लिएको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पियाडमा तेस्रो र अन्तर्राष्ट्रिय बिजेनश ओलम्पियाडमा पहिलो भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।

तीन  दिने कार्यक्रमलाई नेपाल स्टक ब्रोकर एसोसिएसन (एसबान), ज्योति विकास बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल आर्थिक पत्रकार समाज (सेजन), सानिमा बैंक, नबिल बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, समृद्धि फाउन्डेसन, सीएमएस ग्रुप, प्रतिभा स्कुल, किङ्स कलेजलगायत संस्थाहरूले सहयोग गरेका थिए।

प्रकाशित: Feb 20, 2023| 10:53 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्