काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी महासचिव डा. वेदुराम भुसालले २१–२२ माघमा बस्ने गरी बैठक बोलाइएको बताएका हुन्।
नेकपा एसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीको बैठकमार्फत गरिएका निर्णयलाई अनुमोदन गर्ने र पार्टी, संगठन पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता दिने उद्देश्यले बैठक बोलाएको हो।
बैठकको कार्यसूचीमा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्ताव र विविध विषय रहेको भुसालले बताए। नेकपा एसको गत ६ पुसमा सम्पन्न संगठन विभागको बैठकले गरेका विभिन्न निर्णयलाई अन्तरसंगठन निर्देशन जारी गरेको थियो।