काठमाडौं- मंगलबारबाट सहिद सप्ताह सुरु भएको छ। मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदहरुको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म सहिद सप्ताह मनाउने गरिएको छ।
काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष सहिदको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ। सहिद शुक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष १० माघबाट सहिद सप्ताह मनाउन थालिएको हो।
साथै धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएको थियो। चारैजनाको सम्झनामा सहिद दिवस मनाउने गरिएको छ।
तत्कालीन शासकले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो।