आइतबार, साउन ५, २०८२

सडकले ल्याएको सहजता : ढाकरमा बोक्नुपर्दैन नुनतेल

दशक अघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

भोजपुर- सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ। दशक अघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो। 

सडकको पहुँच विस्तार भएपछि स्थानीयमा व्यावसायिक धाराणाको समेत विकास भएको छ। पछिल्लो दुई दशकको अवधिमा भोजपुरले सडकको क्षेत्रमा अग्रता लिएपछि मानिस व्यावसायिक खेतीमा जुटेका छन्। आफ्नो बारीमा उत्पादन भएको कृषि उपज कुहिएर गइरहेको अवस्थामा सडक पुगेपछि यहाँको उत्पादनले बाह्य बजारमा स्थान पाएको छ। 

भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँकाे उत्पादन बाहिर पठाउन सहज भएको हो।

करिब ९ वर्षअघि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन्। सडक विस्तारले अहिले गाउँघरका कुनाकुनामा उत्पादन भएका आलु, मकैलगायत कृषिउपज सहरका बजारमा पुग्न थालेका छन्। हुन त भोजपुर जिल्लामा सडकको विस्तार भएको लामो समय भएको छैन। यहाँ २०६५ सालमा हेलिकोप्टरबाट जिप ल्याएको इतिहास छ।

छिमेकी जिल्ला धनकुटामा सडक जोडिएको ३० वर्षपछि यहाँ कच्ची सडक खनिएको स्थानीय जानकार गणेश श्रेष्ठको भनाइ छ। यहाँ २०५६ सालबाट तत्कालीन ग्रामीण सडक परियोजना (र्‍याप) अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो।

त्यसपछि लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उनको भनाइ छ। ‘तुलानात्मक रूपमा भोजपुरमा सडकको विकास ढिला नै भएको हो, सडक पहुँचमा जोडिएपछि भोजपुरको मुहारमा नै परिर्वतन आएको छ। सडकले अहिले ग्रामीण स्तरसम्म प्रत्यक्ष लाभ पुगेको छ,’ उनले भने।  

नुन, चामल, मट्टितेल १० दिनसम्म लगाएर ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था यहाँका स्थानीयवासीले भोगेका छन्। नुनको जोहो गर्न तत्कालीन अवस्थामा सुनसरीको चतरा, धनकुटाको हिले, उदयपुरको बेलटार मुख्य बजार रहेको स्थानीय ७३ वर्षीय वृद्ध मानबहादुर विष्ट सुनाउँछन्।

‘सडक विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको छ, सडक नहुँदा नुन, तेल चामल १० दिनसम्म बोकेर जीवनयापन गरेको अनुभव छ। हाम्रो पालामा बस चढ्न पाइँदैनजस्तो लाग्थ्यो। अहिले आफ्नै घरको करेसाबाट बस गुड्छ। गाउँगाउँसम्म मोटर बाटो पुगेको छ। अहिलेको पुस्तालाई सहज छ,’ उनले भने।

एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्रे भएको छ। यो सडक जिल्लामा कालोपत्रे भएको पहिलो सडक पनि हो।

भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्बाइ करिब १५४ किलोमिटर छ। अहिले सुविधायुक्त बस, भोजपुरबाट दैनिक काठमाडौँ, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन्।

राष्ट्रिय राजमार्गसँग जोडिएको यो सडक भोजपुरवासीका लागि विकासको ढोकाको रूपमा छ। काठमाडौँसम्मको छोटो सडक सञ्जालसँगको रूपमा जोड्न जिल्लाको पश्चिमी क्षेत्रको देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ। अहिले यो बाटो भएर मानिस १० देखि १२ घन्टामा काठमाडौँ पुग्न थालेका छन्। छोटो सडकमार्ग बनेपछि यहाँका बाँस तथा अन्य सामग्री सोझै काठमाडौँ पुर्‍याउन थालिएको छ।  

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, सिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार गरिएको छ।

यहाँ नागरिकले अहिले कालोपत्रे सडकबाट आफ्ना कृषि उपज बिक्री गर्ने अवस्था बनेको छ। १ दिनसम्मको पैदलयात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्नाे क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्री गरेर घर फर्कन पाएका छन्।

यस क्षेत्रमा उत्पादन भएका कृषि उपज अहिले काठमाडौँ, धरान विराटनगरलगायत सहरमा पुग्ने गरेका छन्। सडकको सहज पहुँच भएपछि स्थानीय व्यावसायिक खेतीमा आकर्षित भएका छन्।

उत्पादन भएको कृषि उपज किन्न ठेकेदार घरमा नै पुग्ने गरेको टेम्केमैयुङका कृषक पासाङ शेर्पाले बताए।

कच्ची नै भए पनि सडकको उपभोग गर्न पाउदा जनजीवन सहज बनेको उनको भनाइ छ। ‘सडकले विकासको लहर आउने रहेछ, पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको आलुलगायत सामग्री बिक्री गर्न समस्या थियो। बेँसीमा लगेर धानसँग साटेर खानुपर्ने अवस्था थियो। अहिले सडक आएपछि घरबाट नै बिक्री गर्न पाएका छौँ,’ उनले भने।

सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रूपमा खेती गर्ने धाराणाको विकास भएको स्थानीय कृषक मनमाया विष्टले बताइन्।

धेरै परिमाणमा उत्पादन गर्न सके बिक्रीका लागि कुनै पनि समस्या नरहेको कृषक विष्टको भनाइ छ। खास गरेर मानिसमा व्यावसायिक धारणा विकास नहुँदा देश कृषिमा पछि परेको उनको भनाइ छ।

‘कृषिमा व्यावसायिक भएर लाग्न सके जीवनयापन गर्न कठिन छैन, विगतमा उत्पादन भएको सामग्री बजारसम्म लैजान समस्या थियो। अहिले घरको आँगनबाट खाली ट्रक कुदिरहेका छन्। उत्पादन गर्न सक्यो भने बिक्रीका लागि बाहिरका सहर पठाउन कठिन छैन,’ उनले भनिन्। 

प्रकाशित: Jan 23, 2023| 20:00 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।