काठमाडौं– नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको २५ माघमा हुने उपनिर्वाचनका लागि तीन जना प्रत्यासीको नाम सिफारिस गरेको छ। कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस गरेको हो।
आचार्य २०६४ मा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संविधानसभा चुनावमा प्रतिस्पर्धी हुन्। बर्दियाका राठौर पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। ११ माघमा उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ। कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट नाम संकलन गरेर तीमध्ये ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको बताए।
सत्तारुढ एमालेले उम्मेदवारको टुंगो लगाउन बाँकी छ। एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी केन्द्रसँग समन्वय गरेर सहमतिमै उम्मेदवारको टुंगो लगाइने जानकारी दिए। प्रदेशका १०९ मध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जितेका छन्।
८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा,नागरिक उन्मुक्तिले ४–४, जसपा,लोसपा, जनमतले ३–३, जनमोर्चा र नेकपा एसले १–१ र स्वतन्त्रबाट २ जनाले जितेका छन्। राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था छ। २५ माघमा घोराहीमा हुने उपनिर्वाचनका लागि ८ माघमा मतदाता नामावली प्रकाशन भइसकेको छ।
उपनिर्वाचनबाट निर्वाचित सदस्यको कार्यकाल करिब १ वर्ष मात्रै हुनेछ। एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो।