आइतबार, साउन ५, २०८२

ओलीले गराइदिए जसपालाई सरकारमा जाने बाटो बन्द?

नेकपा एससँग पार्टी एकीकरणमा लागेको बात लगाएर जसपालाई सरकारमा जान नदिने मुडमा रहेका ओली नेकपा एसलाई मन्त्री दिएर गठबन्धनमा भित्र्याउन चाहे पनि प्रधानमन्त्री प्रचण्डलाई समेत ब्याक गराउन सफल भएका छन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं– नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एस र उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति अध्यक्ष केपी ओली अहिलेसम्म रिसरागमै रहेको शनिबार जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवसँगको बालकोट छलफलमा देखियो। सात दलीय गठबन्धनमा समाहित भएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको जसपाले आफ्नो मागअनुसार मन्त्रालय बाँडफाँट नगरिएको भन्दै चित्त दुखाउँदै आएको छ। यद्यपि मधेस प्रदेशमा जसपाबाटै मुख्यमन्त्री चयन भइसकेका छन्। मधेस प्रदेशमा जसपाका मुख्यमन्त्रीलाई कांग्रेससहितका विपक्ष र सात दलीय गठबन्धनका उम्मेदवारले विश्वासको मत दिइसकेका छन्।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एसले संघीय सभामुख र उपसभामुख भने कित्ता फेरेर कांग्रेस उम्मेदवारलाई मत हालेको छ। नेकपा एसका नेताहरु जसपासँग पार्टी एकीकरण गर्न विभिन्न चरणमा वार्तामा बसिरहेका छन्। नेकपा एस र जसपाबीच पार्टी एकीकरणका लागि अध्यक्षद्वय यादव र नेपाल करिब–करिब सहमत भइसकेको नेता वेदुराम भुसालले बताएका छन्।

दुई पार्टी एक हुन वार्ता भइरहेका अचानक जसपा अध्यक्ष उपेन्द्र ओली भेट्न बालकोट पुगेका थिए। जसपा–नेकपा एसको एकता प्रक्रियालाई लिएर अध्यक्ष ओली असन्तुष्ट मात्र नभई सरकारमा समेत जान नदिने धम्की उपेन्द्रलाई दिएका छन्। शनिबार बालकोटमा भएको छलफलबारे अध्यक्ष यादवले आइतबार पार्टी नेताहरूलाई जानकारी गराएका थिए। त्यो भेटमा ओलीले नेता नेपालको पार्टीसँग एकता नगर्न अध्यक्ष यादवलाई सम्झाई–बुझाई गरेको जसपाका एक नेताले दाबी गरे।

ओलीले नेकपा एससँग एकता वार्तामा बसेकै कारण जसपालाई सरकारमा सहभागी गराउन नसकिएको र नगराइने सन्देश यादवलाई दिएको बताइन्छ। आफूलाई विश्वासको मत दिएर सहयोग गरेपछि नेकपा एसलाई सरकारमा भित्र्याउन चाहे पनि ओलीकै कारण प्रधानमन्त्री ब्याक भएको स्रोतको दाबी छ। 

नेकपा एससँग पार्टी एकीकरणमा लागेको बात लगाएर जसपालाई सरकारमा जान नदिने मुडमा रहेका ओली नेकपा एसलाई मन्त्री दिएर गठबन्धनमा भित्र्याउन चाहे पनि प्रधानमन्त्री प्रचण्डलाई समेत ब्याक गराउन सफल भएका छन्।

यसअघि ९ पुसमा पनि ओलीकै कारण सरकार निर्माणका क्रममा नेता नेपाललाई छाडेर प्रचण्ड एक्लै बालकोट पुगेका थिए। एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीच मिलेर सरकार बनाउने सहमति त्यतिबेलै बनेको थियो।

बालकोटमा उपेन्द्र–ओली छलफलमा रहेकै बेला नेकपा एस कार्यदलको बैठकले एक–अर्का पार्टी दस्तावेज साटासाट गरेको थियो। ‘दुई पार्टीको वार्ता टोलीका सदस्यबीच एकअर्काका दस्तावेज आदान–प्रदान भएका छन्। दुवै पार्टीले दस्तावेजमा समानता र असमानता पहिल्याउनेछ,’ नेकपा एसका महासचिव वेदुराम भुसालले भनेका थिए। जसपाबाट दस्तावेजमा समानता र असमानता पहिल्याउने जिम्मा गोविन्द चौधरीलाई दिइएको छ। नेकपा एसले नेता विजय पौडेललाई उक्त जिम्मेवारी सुम्पिएको छ। साझा विषयमा सहकार्य, असमानताका विषयले उच्चस्तरीय समितिबाट समान बनाउने प्रयत्न गर्ने र नमिल्ने विषयलाई महाधिवेशनमा लगेर टुंग्याउने हिसाबले एकताका लागि दस्तावेज अध्ययन सुरु भएको नेकपा एसका नेता भुसालले बताए।

जनता समाजवादी पार्टीले उपराष्ट्रपति वा उपसभामुखमध्ये एउटा दिन गठबन्धनमा प्रस्ताव राखे पनि हात लाग्यो शून्य भएको छ। उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ भने उपराष्ट्रपति माओवादी केन्द्रलाई दिन ओली सहमत भएका छन्। प्रधानमन्त्री प्रचण्डले जसपालाई सरकारका सहभागी गराउन दुई मन्त्रालय आफैंले सम्हालिरहेका छन्। 

प्रधानमन्त्री प्रचण्ड।
ओली–प्रचण्डले जसपाले मागेअनुसारका मन्त्रालय नदिएपछि नेता यादव पछिल्लो समय सत्ता गठबन्धनप्रति असन्तुष्ट छन्। सरकारको साझा न्यूनतम कार्यक्रम र मन्त्रिपरिषद् विस्तार गर्दासम्म जसपालाई भाउ नदिएपछि यादव सात दलीय समीकरणबाट बाहिरिने रणनीतिमा छन्। यद्यपि, संघीय सभामुख र उपसभामुखको निर्वाचनमा भने सत्ता गठबन्धनका उम्मेदवारलाई नै जसपाले मत दिएको थियो। नेकपा एसले सरकारमा सहभागिता नजनाउने निर्णय नगरे पनि ओलीकै कारण सात दलीय गठबन्धनभित्र जान चाहेको छैन। नेता नेपालले जसपालाई सरकारमा नजान आग्रह गरिरहेका छन्। जसपा सरकारमा सहभागी नहुने भएपछि नेकपा एस र जसपाबीचको एकता वार्ता अघि बढिरहेको छ। 

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले भनेका थिए, ‘हामी सरकारमा नजाने विषयमा क्लियर छौं। जसपाले संघदेखि प्रदेश सरकार ताकिरहेको छ। मधेस प्रदेशमा भाग पाइसक्यो। यस्तो अवस्थामा एकता हुन सक्दैन। एकताका लागि जसपा सरकार बाहिरै रहनुपर्ने सर्त अध्यक्षलाई सुनाएको छु।’ एकताबारेको वार्ता कार्यदलको शनिबारको बैठकमा पनि नेकपा एसका महासचिव भुसालले यही विषय अगाडि राखेका थिए। उनले भनेका थिए। ‘प्रतिगमनका नाइकेलाई साथमा राख्दै दायाँ राष्ट्रिय स्वतन्त्र पार्टी र बायाँ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राखेर प्रचण्डजीले कस्तो अग्रमन खोज्नुभएको हो? हामीले चाहेको अग्रमन यस्तो होइन। त्यसैले यो सरकारमा जानु  हुँदैन।’ दुई पार्टीबीचको एकता प्रक्रियामा राजनीतिक एजेन्डा, कार्यदिशालगायतमा अहिले सहमति नजुटे महाधिवेशनमा टुंग्याउन अध्यक्षद्वयबीच सहमति भएको पौडेलको दाबी छ।

प्रकाशित: Jan 23, 2023| 13:52 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...