काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन्। २८५९औँ सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
उनले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएको बताए। 'यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दाबढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,' प्रधानमन्त्री प्रचण्डले भने, 'यहाँ बसोबास गर्ने सबै जाति/जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन्। यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।'
प्रधानमन्त्रीले थपे, 'नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो। यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन्।'
प्रधानमन्त्री प्रचण्डले ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष रहेको र यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको बताए।
उनले भने, 'बाह्र बर्षको चक्र बनाइन्छ। बाह्र ल्हो मध्ये प्रत्येक बर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (बर्ष) सँग खाम (पाँच तत्व) हरू आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन्। तामाङहरुले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो। हिजो ताक् ल्हो (बाघ बर्ष) लाई विदा गरियो। आजबाट ह्योई (खरायो बर्ष) ल्हो शुरु भयो। यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो। यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ। तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु।'