जनकपुरधाम- अपहरणमा परेका धनुषा जनकपुरधामका दुई जनाको भारतको सीतामढीस्थित पर्सामा हत्या भएको छ। उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ।
खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेका खुलेको हो। दुई साता अघिदेखि सम्पर्कविहीन भएका उनीहरुको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
दुई साताअघि नै सीतामडीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरिए पनि उद्धार हुन सकेन।