काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन्। आज अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहको बैठकमा कोइरालाले प्रचण्डलाई विश्वासको मत दिनु भूल भएको बताए।
उनले पार्टीमा बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेकाले आफूहरूले मतदान गरेको बताए। ‘हामीले विश्वासको मत दिएर गल्ती गर्यौं। मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन। बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्यो। विश्वासको मत दिन हुन्थेन’, उनले भने।
केन्द्रीय कार्यसम्पादन समितिको पुस २६ को बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले फरक मत राखेका थिए।