आइतबार, साउन ५, २०८२

आँगनमा धारा छ, पानी छैन

बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ। खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन्।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

म्याग्दी- बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ। खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन्। 

“आँगनमा धारा भए पनि पानी आउँदैन”, उनले भनिन्, “टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ।” 

कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन। कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ताको दुःख नहटेको हो।

रत्नेचौरमा विस २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ। जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन। आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निरास बनेका स्थानीय कृष्ण बोगटीले बताए।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन। बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताए। 

“ताकेता गर्‍यो भने १५–२० दिन काम हुन्छ। अनि फेरि रोकिन्छ, हैरान भएका छौँ”, उनले भने, “निर्माण कम्पनीका सञ्चालक र खानेपानी कार्यालयको असमझदारीले आयोजना प्रभावित बनेको हो।” खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते दुई करोड ७५ लाख ३६ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो।

६ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो। विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता थियो।

हालसम्म एक वटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ। दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ। मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ। निर्माण कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले बाँकी कामलाई पूर्णता दिन शनिबारदेखि मजदुर र उपकरण परिचालन गरेको बताए। 

“इनार बनाउन खाडल खनिएको छ, कार्यालयले छिटो लाइन दियो भने मुख्य लाइनको जिआइ पाइप वेल्डिङ पनि तत्कालै सुरु हुन्छ”, उनले भने, “बाँकी रहेका धारा बनाउन र पाइप लाइन पुर्नका लागि मजदुर ल्याएको छु। समुदाय र कार्यालयबाट वातावरण बन्यो भने दुई महिनाभित्र आयोजना निर्माण सकिन्छ।”

विसं २०७७ माघ ११ गते तत्कालीन प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गरेका थिए। सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ। हालसम्म १२० भन्दा बढी घरमा निजी धारा निर्माण भइसकेको छ। 

तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी ४५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्याङ्कीमा खसालेर घर–घरमा धारा जडान गरेर वितरण गरिने भएको छ। घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८.७ किलोमिटर छ। खानेपानी कार्यालयले भने ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन ताकेता गरिएको जनाएको छ। रासस

प्रकाशित: Jan 22, 2023| 10:24 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।