काठमाडौं- नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा गएराति साढे ८ बजे उनको निधन भएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अच्युतम काफ्लेले जानकारी दिए।
५३ वर्षीया बल ३ वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिइन्। सर्लाहीको हरिवन नगरपालिका ९ नयाँरोड घर भएकी बलको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साताअघि उनलाई काठमाडौं लगिएको थियो। उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो।
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्।
१० वर्षे जनयुद्धमा उनले सर्लाहीसँगै सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा रहेर काम गरेकी थिइन्।