काठमाडौं– नवनियुक्त संघीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक निष्पक्ष र विवादरहित चलाउने प्रतिबद्धता जनाएका छन्। शनिबारको प्रतिनिधिसभा बैठकमा लिखित मन्तव्य दिँदै सभामुख घिमिरेले प्रतिपक्षलाई पनि महत्त्वका मञ्च दिएर सभा सञ्चालन गर्ने बताएका हुन्। ज्येष्ठ सदस्यको नाताले यसअघि सभा सञ्चालन गर्दैै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणालाई उनले धन्यवाद दिए।
सभामुख घिमिरेले संसद्लाई सम्बोधन गर्दै भने, ‘स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधिसभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्बन्धमा माननीय सदस्यलाई विश्वास दिलाउन चाहन्छु। सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले यसको गरिमा र शाख अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्नेमा सदैव सचेत र क्रियाशील रहनेछु।’
संसद्मा राजनीतिक दलहरुबीच दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र भएकाले प्रतिस्पर्धाको थलो भनिएको सभामुख घिमिरेले बताए।
‘संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधिसभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्बन्धमा माननीय सदस्यहरुलाई विश्वास दिलाउन चाहन्छु,’ सभामुख घिमिरेले भने।