काठमाडौं– गत १४ पुस राती कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा परेर ज्यान गुमाएका निराकर पाण्डेको शव काठमाडौं हुँदै झापाको बिर्तामोड नगरपालिका–१ स्थित निवासमा लगिएको छ।
उक्त होटलमा बास बसेका पाण्डेले आगलागीपछि ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम फाल्दा मृत्यु वरण गर्न पुगेका थिए। शुक्रबार कम्बोडियाबाट काठमाडौं आइपुगेको उनको शव शनिबार दिउँसो साढे १२ बजे बिर्तामोडस्थित निवासमा ल्याइएको हो।
युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो। उनको शव गृहनगरमा आइपुगेको खबर पाउनेबित्तिकै आज बिहानैदेखि हजारौं शुभचिन्तकको भीड लागेको थियो। ‘एउटा युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा सबैको मन रोएको छ’, स्थानीय प्रदीप परियारले भने, ‘आज सिंगो बिर्तामोड स्तब्ध भएको छ।’ मृतक पाण्डे बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन्।
पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ। घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए।
पाण्डेले मृत्यु हुनुअघि परिवारजन र आफ्ना ९ वर्षीय छोरासँग गरेको हृदयविदारक कुराकानीको भिडियो फुटेज सार्वजनिक भएको थियो। सोही भिडियो कुराकानीको लाइभ हेर्नेहरुबाट वेदनासहितको सन्देश पाण्डेप्रति अर्पित गरिएका थिए। आजै कनकाई माईमा स्व. पाण्डेको अन्त्येष्टि गरिनेछ।